काठमाडाैँ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या ११ सय नाघेको छ। बाढी प्रभावित क्षेत्रमा अझै हजारौँ नागरिक सम्पर्कविहीन छन् भने खोज तथा उद्धार कार्य जारी छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण ज्यान गुमाएका एक हजार ११४ जनाको शव हालसम्म फेला परेको छ। प्रभावित क्षेत्रमा अझै तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव फेला परेको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ११ हजार ९९३ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ। यस्तै, प्रभावित नागरिकका लागि राहत तथा अत्यावश्यक सामग्री पठाउने काम पनि जारी छ। हालसम्म ३७ ट्रक र ३७ वटा साना सवारीसाधनमार्फत खाद्य तथा आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। सडक पहुँच नपुगेका तथा थप प्रभावित क्षेत्रमा भने हेलिकप्टरमार्फत समेत राहत सामग्री पुर्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।