काठमाडौँ। नेपालमा हालै आएको बाढीपहिरोपछि चीनले जल तथा मौसमसम्बन्धी तथ्यांक उपलब्ध नगराएको भन्दै उठेका प्रश्नप्रति नेपालस्थित चिनियाँ दूतावासले प्रतिक्रिया जनाएको छ।
चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै चीनले जल तथा मौसमसम्बन्धी तथ्यांकमा पारदर्शिता नअपनाएको भन्ने नेपाली सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममा आएका टिप्पणी तथ्यसँग मेल नखाने दाबी गरेका हुन्। विज्ञप्तिमा गत २६ अगस्ट २०२६ मा चीन–नेपालको केरुङररसुवा नाकामा विनाशकारी पहिरो गएपछि अनुगमन केन्द्रहरूमा क्षति, यातायात अवरोध तथा प्रभावित जलाधार क्षेत्रमा सञ्चार संकेत अस्थिरताजस्ता कठिनाइका बाबजुद चीनले तथ्यांक आदानप्रदानका माध्यमहरू पुनः सञ्चालन गर्न सक्दो प्रयास गरेको उल्लेख छ।
चीनले प्रभावित जलाधार क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण जल तथा मौसमसम्बन्धी तथ्यांक दैनिक रूपमा नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको दूतावासको भनाइ छ। साथै, अन्य नेपाली सम्बन्धित निकायसँग पनि आवश्यक जलसम्बन्धी सूचना समयमै आदानप्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ। चीनले जल तथा मौसमसम्बन्धी तथ्यांकमा पारदर्शिता नअपनाएको आरोपलाई तथ्यसँग अत्यन्त असंगत भन्दै यस्ता आरोपले नेपाल–चीनबीचको विपद् उद्धार तथा राहत सहकार्यमा अवरोध पुर्याउने उद्देश्य राखेको दाबी गरेको छ। विज्ञप्तिमा चीनले मानवीयताको भावनालाई सधैँ प्राथमिकता दिँदै आएको र नेपालको विपद् व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई पूर्ण समर्थन गरेको उल्लेख छ। त्यसैगरी, दुवै देशका नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि चीनले ठोस कदम चाल्दै आएको भन्दै आगामी दिनमा पनि नेपाललाई कठिनाइबाट बाहिर निस्कन र पुनर्निर्माणमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ।