काठमाडौं । नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत नागढुंगानजिकै पातले वन क्षेत्रमा सडक भासिएको छ ।
सडक भासिएपछि उक्त खण्डमा सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको धादिङ सडक विभागले जनाएको छ । सडक भासिएको स्थानमा हाल पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइएको सडक विभागका इन्जिनियर अर्जुनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार अन्य सवारीसाधनलाई भने वैकल्पिक मार्गका रूपमा नागढुंगा–नौबिसे सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ । सडक भासिनुको कारणबारे प्राविधिक टोलीले स्थलगत अध्ययन थालेको छ । सडकको पुरानो पर्खाल भत्किएपछि सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इन्जिनियर अर्यालले बताए । उनले सडकको वाल लामो समयदेखि पुरानो रहेकाले त्यसकै कारण भत्किएर सडकमा क्षति पुगेको हुन सक्ने बताए । यद्यपि, वास्तविक कारण प्राविधिक अध्ययनपछि मात्रै यकिन हुने उनको भनाइ छ । सडक विभागको प्राविधिक टोली घटनास्थलमै पुगेर सडक भासिएको अवस्था तथा त्यसको कारणबारे अध्ययन गरिरहेको छ ।