काठमाडौँ । देशका विभिन्न भागमा आज हल्कादेखि मध्यम वर्षाका साथै चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। यस्तै, बिहानको समयमा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
काठमाडौँ उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताए। “बिहानको समयमा काठमाडौँको मौसम केही सफा नै रहनेछ,” उनले भने, “तर अपराह्नपछि काठमाडौँ उपत्यकामा मध्यमसम्मको वर्षा हुने सम्भावना छ।”
बाढी प्रभावित क्षेत्र तथा पहिरोग्रस्त पहाडी भू–भागमा थप जोखिम हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर भू–बनावट भएका स्थानका बासिन्दालाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।