काठमाडौँ । इन्डियन आयल कर्पोरेसन बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र देशभर परेको अविरल वर्षाका कारण सिर्जित विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले इन्धनको मूल्य यथावत् राख्ने निर्णय गरेको हो।
इन्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्य सूचीअनुसार पेट्रोलमा प्रति लिटर ३.३४ रुपैयाँ, डिजेलमा ४.३३ रुपैयाँ, मट्टितेलमा १०.१९ रुपैयाँ, हवाई इन्धनमा ४.९६ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ३५.६२ रुपैयाँले मूल्य बढेर आएको थियो।
यद्यपि, बाढीपहिरोका कारण नागरिकले भोग्नुपरेको असहज अवस्था र आर्थिक बोझलाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी साबिककै खुद्रा बिक्री मूल्य कायम राखेको छ। साथै, क्षेत्रीय विमानस्थलहरूलाई प्रोत्साहन गर्न पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ’ब्रेकइभेन पोइन्ट’ (नाफा–घाटा रहित) मा बिक्री गरिने निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सर्वसाधारणको राहतका लागि बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।