काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले धादिङको कृष्णभीर क्षेत्रमा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन पहिरोको माथिल्लो भागबाट नयाँ ट्र्याक खोल्ने निर्णय गरेको छ। पृथ्वी राजमार्ग सञ्चालन तथा यसको तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मन्त्रालयमा मङ्गलबार बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा काठमाडौँ उपत्यकाको आपूर्ति शृङ्खला तुरुन्त पुनस्र्थापना गर्न कृष्णभीरमा ग्याबियन ब्रेस्ट माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण कार्य तत्काल अघि बढाउने निर्णय गरेको छ। नयाँ ट्र्याक खोल्ने कार्यसँगै जोखिम न्यूनीकरणका लागि सेक्रिफिसियल ग्याबियन बक्स तथा भीरतिर अड्किएका ठूला बोल्डरहरू तल खसाल्ने कामसमेत सँगसँगै अगाडि बढाइने मन्त्रालयले जनाएको छ।
यसैगरी कृष्णभीरको पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग (टनेल), सोइल नेलिङ र सिट पाइल लगायतका अत्याधुनिक प्रविधि र विकल्पबारे सडक विभागले विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ। मन्त्रालयले कृष्णभीरको स्थायी विकल्पका रूपमा सुरुङ वा बाइपास सडक निर्माणका लागि सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षभित्रै वैकल्पिक सडकको व्यवस्था मिलाउने योजना बनाएको छ।
यी अध्ययन एवम् प्राविधिक विकल्पहरूको कार्यान्वयनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउनेछ। यसका लागि आवश्यकताअनुसार सडक विभाग र जियोटेक्निकल सोसाइटीबिच औपचारिक समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय भएको छ।