काठमाडौँ । काठमाडौँ उपत्यकामा परेको अविरल वर्षाका कारण विष्णुमती नदीमा बाढीको बहाव तीव्र रूपमा बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार (भदौ १६ गते) साँझ ६ः४५ बजे गोङ्गबुस्थित जलमापन केन्द्रमा विष्णुमती नदीको जलसतहले खतराको तह पार गरेको छ।
नदीमा जलसतह खतराको विन्दुभन्दा माथि पुगेर बाढी निरन्तर बढ्दो क्रममा रहेकाले विष्णुमती नदीको तटीय क्षेत्र तथा आसपासका होचा भू–भागमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बस्तीहरूमा पानी पस्न सक्ने खतरा रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन, नदी किनारमा नजान र रातको समयमा थप सावधानी अपनाउन सुरक्षा निकाय तथा जल तथा मौसम विज्ञान विभागले अपिल गरेका छन्।