काठमाडौँ । रसुवाको बाढीबाट प्रभावित जिल्लाहरूमा आज रातिदेखि पर्सि बिहानसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत आसपासका क्षेत्रमा वर्षाको सम्भावना रहेकाले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा चुनौती थपिन सक्ने देखिएको छ।
महाशाखाका अनुसार प्रभावित क्षेत्रका एकाध स्थानमा भने मध्यम वर्षाका साथै भारी वर्षाको समेत सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा सरदर स्थान आसपासमा अवस्थित रहेको महाशाखाले जनाएको छ।
यसैगरी, हाल भारतको पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव नेपालमा परिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।