काठमाडौँ । सरकारले यस वर्ष मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण औपचारिक तथा निर्धारित कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो।
रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो मानवीय एवम् भौतिक क्षति भई मुलुक शोकको अवस्थामा रहेको र राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू उद्धार, खोज र राहत कार्यमा निरन्तर खटिनुपर्ने भएकाले कार्यक्रम रद्द गरिएको मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख छ।
आउँदो भदौ २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका लागि विभिन्न निकायमा विनियोजित बजेट निजामती दिवसका कार्यक्रममा खर्च नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउनसमेत सरकारले सम्बन्धित सबै निकायहरूलाई औपचारिक अनुरोध गरेको छ।
