काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, नागरिकको सुरक्षा र राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।
मंगलबारसम्म विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट ७ हजार ९९२ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा उत्पन्न विभिन्न समस्या समाधान गर्नुका साथै सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा अन्य युनिटबाट टोली परिचालन गरिएको हो। परिचालित प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना रहेका छन्। त्यसैगरी प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र अन्य युनिटबाट २२२ जना प्रहरी परिचालन गरिएको छ।
२४ घण्टा समन्वय केन्द्रबाट निगरानी
विपद्पछिको खोजी, उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ। विपद्सँग सम्बन्धित गतिविधि र तथ्यांक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको प्रहरीले जनाएको छ।
अस्पताल र विमानस्थलमा छुट्टै डेस्क
बाढीमा घाइते भएकाहरूको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न विभिन्न अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘फोकल डेस्क’ स्थापना गरिएको छ।वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३ र काठमाडौं मेडिकल कलेजमा ५ जना प्रहरी खटाइएको छ। त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ। विमानस्थलमा एसपीको नेतृत्वमा ८ जना प्रहरी परिचालन गरी स्वदेशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेहरूको विवरण संकलन गर्ने व्यवस्था मिलाइएको छ।
खोजीमा प्रविधिको प्रयोग
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन प्रहरीले प्रविधिको समेत व्यापक प्रयोग गरिरहेको छ। रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरिएको छ। पैदल पुग्न कठिन दुर्गम क्षेत्रमा ड्रोनमार्फत निगरानी तथा खोजी भइरहेको छ। सम्भावित शव तथा बेपत्ता व्यक्तिको खोजीका लागि ५ वटा तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ। सञ्चार सम्पर्कविहीन क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ। घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र शव पहिचान तथा व्यवस्थापनका लागि विभिन्न जिल्लामा ७१५ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, ‘सिन अफ क्राइम अफिसर’सहितको टोली तथा शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञहरूलाई पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। घाइतेहरूको उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीसमेत खटाइएको छ।
बाढीको मौका छोपेर अपराध गर्नेहरू पनि पक्राउ
बाढीपछि चोरी, लुटपाट तथा ठगीजस्ता गतिविधि हुन नदिन प्रहरीले सुरक्षा निगरानी बढाएको छ। नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरी चितवन मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ। त्यस्तै, धादिङको गल्छी–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको बैंकको सेफ तोडेर रकम हिनामिना गरेको आरोपमा २९ जना स्थानीयलाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। बाढीपीडितका नाममा नक्कली पोस्ट तयार गरी फेसबुकमार्फत रकम उठाउन खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२, ठोसे बजारका ३२ वर्षीय सृजन कार्की पनि पक्राउ परेका छन्। यसैगरी, गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोमा पुरिएको अवस्थामा एउटा सेफ फेला परेको छ। १९ इन्च लम्बाइ र १६ इन्च चौडाइ भएको उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ। परेवाटार–मलेखु त्रिशूली नदीको बगरमा पनि अर्को सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको थप एउटा सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
नारायणी क्षेत्रमा पनि सुरक्षा बढाइयो
बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ बढ्दै जाने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले तल्लो तटीय क्षेत्रमा समेत सुरक्षा निगरानी बढाएको छ। चितवनको नारायणी नदी आसपासमा मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ। भौतिक अवरोध हटाउने, फेला परेका सामग्री व्यवस्थापन गर्ने तथा सम्भावित जोखिमबाट नागरिकलाई जोगाउने काममा प्रहरी टोली सक्रिय रहेको प्रहरीले जनाएको छ। विपद्को यस संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, खोजी तथा उद्धार र राहत वितरणमा सहजीकरण गर्ने कामलाई प्रहरीले निरन्तरता दिएको छ। साथै, प्रभावित क्षेत्रमा नागरिकलाई संयमित रहन आग्रह गर्दै विपद् जोखिम न्यूनीकरण र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।