काठमाडौं ।चीनको तिब्बत स्वायत्त क्षेत्रमा बाढीपहिरोका कारण क्षतिग्रस्त केरुङ बन्दरगाह जोड्ने प्रमुख राष्ट्रिय राजमार्ग पुनः सञ्चालनका लागि काम तीव्र पारिएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सडकमा थुप्रिएको लेदो, ढुंगा तथा पहिरो हटाउँदै क्षतिग्रस्त संरचना मर्मत गर्ने काम भइरहेको छ।नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी फुटेर आएको बाढीपहिरोले केरुङ आसपासका क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। क्षेत्रीय सरकारका अनुसार घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५ सय ४६ जना अझै सम्पर्कविहीन छन्।केरुङ बन्दरगाहतर्फ जाने जी–२ सय १६ राष्ट्रिय राजमार्गका विभिन्न भाग बाढी तथा पहिरोका कारण क्षतिग्रस्त भएका छन्। सडक पुनः सञ्चालनका लागि चिनियाँ रेलवे समूहका एक सयभन्दा बढी कामदार केरुङ काउन्टीको सिन्जियाङ गाउँ क्षेत्रमा खटिएका छन्।कामदारहरूले नदीको बहाव र क्षतिग्रस्त सडकलाई ध्यानमा राख्दै ढुंगा भरेर ग्याबियन बक्स निर्माण गरिरहेका छन्। तयार भएका ती संरचना जोखिमयुक्त सडकखण्डमा प्रयोग गरिनेछन्। तीव्र गतिमा बग्ने नदीका कारण थप क्षति हुन नदिन ठूला ढुंगा र मजबुत ग्याबियन बक्स राखेर सडकको आधार सुरक्षित बनाउने योजना छ।
उद्धार तथा पुनर्निर्माणमा संलग्न टोलीले सडक क्षेत्रमा काम गर्दा सम्भावित जोखिमबाट बच्न सुरक्षित निकासको व्यवस्थासमेत गरेको छ। चाइना एनेङ कन्स्ट्रक्सन ग्रुपका उद्धारकर्मीले विभिन्न जोखिमयुक्त स्थानमा डोरीमार्फत सुरक्षित स्थानसम्म पुग्ने वैकल्पिक मार्ग तयार गरेका छन्।सोमबार बिहानसम्म तीनवटा डोरी जडान गरिएको थियो, जसको संयुक्त लम्बाइ करिब १ सय ८० मिटर रहेको बताइएको छ। आकस्मिक रूपमा नदीको पानी बढेमा वा पहिरो खस्ने अवस्था आएमा उद्धारकर्मीले सोही मार्ग प्रयोग गरी सुरक्षित स्थानमा पुग्न सक्नेछन्।राजमार्ग मर्मत तथा पुनःनिर्माणका लागि चाइना एनेङले १ सय ५८ जना उद्धारकर्मी र एक्स्काभेटर, लोडरलगायत २८ वटा निर्माण तथा उद्धार उपकरण परिचालन गरेको छ। टोलीले निरन्तर पालो प्रणालीमा काम गरिरहेको जनाएको छ।पुनःनिर्माणको प्रारम्भिक चरणमा बन्दरगाहबाट करिब १।१ किलोमिटर क्षेत्रसम्म जी–२ सय १६ राजमार्ग सञ्चालनयोग्य बनाइएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। बाँकी क्षतिग्रस्त खण्डमा पनि सफाइ, सडक संरक्षण तथा पुनर्निर्माणको काम जारी रहेको छ।