काठमडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुलाई प्रहरीले करिब २० घण्टापछि फेला पारेको छ।
प्रहरीले अस्पताल तथा आसपासका क्षेत्रको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान र खोजी अभियान सञ्चालन गर्दै शिशुलाई फेला पारेको हो। अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागमा उपचाररत सर्लाहीको रामनगर गाउँपालिका–३ निवासी २७ वर्षीया रिंकु देवीले जन्माएको नवजात शिशु बिरामीको कुरुवा हुँ भन्दै आएका एक अज्ञात व्यक्तिले स्याहार गर्ने बहानामा चोरी गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार घटना २०८३ जेठ १४ गते दिउँसो करिब ४ बजे भएको थियो।
घटनापछि अस्पताल प्रशासन, वडा प्रहरी कार्यालय वीर्ता र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त समन्वयमा खोजी तथा अनुसन्धान अघि बढाइएको थियो। अस्पताल र वरपरका क्षेत्रका सीसीटीभी फुटेजसमेतको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान तथा खोजी अभियान सञ्चालन गरेको थियो। त्यसको करिब २० घण्टापछि २०८३ जेठ १५ गते दिउँसो करिब १ः४५ बजे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले नवजात शिशुको परिवारलाई शिशु फेला परेको जानकारी गराएका हुन्। अस्पतालका अनुसार फेला परेको नवजात शिशु हाल नारायणी अस्पतालको एनआईसीयूमा उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनामा सहयोग गर्ने सबैलाई अस्पताल प्रशासनले धन्यवाद दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।
