चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँ उपत्यका र छिमेकी जिल्लाहरूका लागि उपत्यका बाहिरै एलपी ग्यास बोटलिङ (भर्ने कार्य) सुरु गरिएको छ। ग्यास बोकेका बुलेटहरू अवरुद्ध सडकका कारण उपत्यका भित्रिन नसकेपछि बाहिरै ग्यास भरेर ट्रक तथा गाडीमार्फत काठमाडौँ लैजाने व्यवस्था मिलाइएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उपत्यका बाहिरका उद्योगहरूमा ग्यास भर्न उद्योगीहरूलाई औपचारिक अनुमति दिइसकेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा मात्रै कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्ने भएकाले १६ वटा उद्योगहरूले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगहरूसँग समन्वय गरी ग्यास भर्ने काम अगाडि बढाएका हुन्।
कृष्णभिरको बाटो सहज नभएसम्म उपत्यका बाहिरका उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथलगायतका वैकल्पिक सडकमार्फत काठमाडौँ भित्र्याइने बाबा ग्यासका सञ्चालक एवम् संघका सदस्य विमल कालाखेतीले जानकारी दिए। उनका अनुसार बाहिरका उद्योगहरूमा ग्यास भर्ने कार्य सुरु भइसकेकाले उपत्यका र आसपासका क्षेत्रमा ग्यासको अभाव नहुने स्पष्ट पार्दै उपभोक्ताहरूलाई अनावश्यक स्टक नराख्न आग्रह गरिएको छ।
हाल श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी तथा एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन्। त्यसैगरी अन्य उद्योगहरूले पनि काठमाडौँ बाहिरका उद्योगहरूसँग समन्वय गरी ग्यास बोटलिङको काम तीव्र बनाएका छन्।