काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशैभर मौसम बदली भई धेरै स्थानमा वर्षाको सम्भावना बढेको हो।
अहिले बिहान देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
मंगलवार (आज) दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ। देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा वर्षा हुनेछ। आज दिउँसो देशको पहाडी भू–भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै, आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका हिमाली एवम् पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।