काठमाडौँ। रसुवागढीमा आएको विनाशकारी बाढीपछि चीन सरकारले सिन्धुपाल्चोकस्थित तातोपानी नाकासमेत अनिश्चितकालका लागि बन्द गरेको छ। चीन सरकारका तर्फबाट तातोपानी भन्सार कार्यालयलाई इमेल पठाउँदै अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने औपचारिक जानकारी गराइएको छ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चिनियाँ पक्षबाट नाका बन्दको इमेल प्राप्त भए पनि त्यसको विस्तृत कारणबारे थप जानकारी आइसकेको छैन। रसुवागढी नाका बाढीले बगाएर ठप्प भएपछि तातोपानी नाकालाई मुख्य व्यापारिक विकल्पका रूपमा हेरिएको थियो। तर तातोपानी नाका पनि एकाएक बन्द भएपछि नेपाल–चीनबिचको मुख्य व्यापारिक आवतजावत र आपूर्ति शृङ्खला गम्भीर संकटमा परेको छ।
नेपालतर्फको सडक खण्ड हाल सामान्य रूपमा सञ्चालनमा रहे तापनि सीमापारिको चिनियाँ नाका बन्द भएपछि चीनसँगको वैदेशिक व्यापारका लागि अब मुस्ताङस्थित कोरला नाका मात्र सञ्चालनमा बाँकी रहेको छ। नेपालीहरूको मुख्य चाडबाड नजिकिँदै गर्दा उत्तरी नाकाहरू लगातार अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजार, महँगी र वस्तु आपूर्तिमा पर्ने देखिएको छ।