काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ। सोमबार एनआरएनएका पदाधिकारीसहितको टोलीले परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
सहयोग रकम ग्रहण गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले विपद्बाट भएको क्षति तत्कालीन उद्धार र राहतमा मात्र सीमित नरही पुनस्र्थापना र पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने बताए। अर्थमन्त्रीको प्रारम्भिक अनुमान अनुसार बाढीपहिरोका कारण करिब पाँच अर्ब अमेरिकी डलर बराबरको क्षति भएको उल्लेख गर्दै मन्त्री खनालले नेपाल सरकार एक्लैले पुनर्निर्माण गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रिय समुदाय र एनआरएनएको निरंतर सहयोग आवश्यक रहने स्पष्ट पारे। राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक पीडितसम्म राहत पुगोस् भन्नका लागि सरकारले ’वान डोर’ नीति अघि बढाएको भन्दै उनले स्थानीय तहसँग समन्वय गरेर मात्र राहत बाँड्न आग्रह गरे।
कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले संघले प्रारम्भिक चरणमा कुल पाँच करोड रुपैयाँ बराबरको राहत सहयोग गर्ने योजना बनाएको जानकारी दिए। बाढी आएको भोलिपल्टदेखि नै एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरू नुवाकोट र रसुवाका प्रभावित क्षेत्रहरूमा पुगी खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य शिविर सञ्चालनमा जुटिसकेको उनले बताए।
अध्यक्ष शर्माका अनुसार विश्वभरका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत हालसम्म करिब साढे ६ करोड रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको छ। विदेशमा रहेका गैरआवासीय नेपालीहरू आर्थिक सहयोग जुटाउनुका साथै सम्बन्धित देशका सरकार र संघसंस्थालाई नेपालको विपद्बारे ध्यानाकर्षण गराउन सक्रिय रहेको उनले बताए। एनआरएनएले प्रारम्भिक राहतसँगै आगामी पुनर्निर्माणका चरणहरूमा आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउन समेत पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ।