काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउने नागरिकहरूको संख्या ९३९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण अझै पनि करिब ३ हजार १२५ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणको तथ्यांकअनुसार बाढीले बगाएर ल्याएका शवहरू विभिन्न जिल्लाहरूमा फेला पर्ने क्रम जारी छ। हालसम्म सबैभन्दा बढी चितवनमा २७९ जनाको शव फेला परेको छ। यसैगरी नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव (विभिन्न मानव अङ्गहरूसहित) संकलन गरी राखिएको छ।
बाढीका कारण सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्थानीय तथा विदेशी नागरिकहरू ठूलो संख्यामा बेपत्ता भएका छन्। सम्पर्कविहीन हुनेहरूमा नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना र अध्यागमनका ३ जना कर्मचारी रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनाका करिब ६३९ जना, रसुवाबाट करिब ८६५ जना र नुवाकोटबाट करिब १५५ जना नागरिकहरू सम्पर्कविहीन छन्। त्यसैगरी ५९२ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १६४ जना नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना कर्मचारीको पनि हालसम्म कुनै पत्तो पाउन सकिएको छैन।
उद्धार, स्वास्थ्य उपचार र सुरक्षाकर्मी परिचालनः
विपद्पछि सुरक्षा निकायहरूले हालसम्म ११ हजार ३७१ जनाको सफलतापूर्वक उद्धार गरिसकेका छन्। जसमध्ये नेपाली सेनाको हवाइ साधनमार्फत २५३ जना विदेशी र ३ हजार ४०४ जना नेपाली नागरिकको उद्धार गरिएको छ। हवाइ उद्धारका लागि नेपाली सेनाले हालसम्म ४९१ उडान (सोमबार मात्रै ८८ उडान) र निजी क्षेत्रका हेलिकप्टरबाट २९ वटा उडान सञ्चालन गरिएका छन्। बाढीका कारण घाइते भएका २७१ जनामध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनाको टोलीले २ हजार ७०० जनालाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेको छ। प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरीका ७ हजार ९०९, नेपाली सेनाका ८ हजार ८९६ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार आठ जना सुरक्षाकर्मीहरू निरन्तर परिचालन गरिएका छन्।
राहत वितरण, इन्धन र सञ्चारको अवस्थाः
प्रभावित बस्तीहरूमा राहत सामग्री पु¥याउन ३७ वटा ट्रक, ३७ वटा बोलेरो र ९ वटा हेलिकप्टर उडानमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्रीहरू पठाइएको छ। तत्काल राहत तथा व्यवस्थापनका लागि नेपाल सरकारका तर्फबाट रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड, धादिङलाई ५० लाख र अन्य १५ वटा प्रभावित पालिकाहरूलाई कुल ६ करोड ७५ लाख रुपैयाँ नगद राहत रकम हस्तान्तरण गरिएको छ। इन्धन व्यवस्थापनतर्फ प्रभावित क्षेत्रमा हाल ४५ हजार लिटर डिजेल, २० हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाइ इन्धन मौज्दात रहेको छ। यस्तै, बाढीका कारण अवरुद्ध भएका नेपाल टेलिकमका १म्ब (११०) वटै टावरहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ वटा टावरमध्ये ७५ वटा सुचारु भई सञ्चार सम्पर्क सहज बनेको छ।