काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित नागरिकहरू विगत पाँच दिनदेखि खुला आकाशमुनि भोकभोकै रात बिताउन बाध्य भएका छन् । बाढीबाट विस्थापित नागरिकहरूलाई राहत वितरणमा ढिलाइ भएको भन्दै सरकारप्रति तीव्र आक्रोश बढेको छ।
बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका पीडित नागरिकहरू हाल खाद्यान्न, पिउने पानी, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको अभावमा अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य छन्। यस्तो संकटको समयमा राहत उपलब्ध गराउनुपर्ने ठाउँमा सरकारले ‘एकद्वार प्रणाली’को बहानामा प्रशासनिक ढिलासुस्ती गरेको भन्दै पीडितहरूले गम्भीर गुनासो गरेका छन्।
यसै विषयलाई लिएर सामाजिक अभियान्ता एवम् इन्जिनियर सुरज पाण्डेले सरकारको सुस्त र प्रक्रियागत कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। विपद्को यस संवेदनशील समयमा सरकारले प्रचारप्रसार र ‘स्टन्ट’ छाडेर नागरिकको वास्तविक पीडामा मलम लगाउन ध्यान दिनुपर्ने उनको भनाइ छ।
“जनता पाँच दिनदेखि भोकै छन्, खुला आकाशमुनि रात काटिरहेका छन्। यस्तो अवस्थामा राहत कहाँ अड्किएको छ? बाढीबाट बचेर आएका नागरिकले अब भोकै मर्नुपर्ने हो?” भन्दै इन्जिनियर पाण्डेले सरकारसमक्ष प्रश्न तेस्र्याएका छन्। विपद्का बेला झन्झटिलो प्रशासनिक प्रक्रियाभन्दा पनि नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा उनले जोड दिएका छन्।
प्रभावित क्षेत्रका बाढीपीडित नागरिकहरू हाल तत्काल खाद्यान्न, पिउने पानी, अस्थायी आवास र स्वास्थ्य सेवाको तीव्र पर्खाइमा रहेका छन्। नागरिकको जीवन बचाउन राहत वितरण प्रक्रियालाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि अहिले सरकारमाथि चौतर्फी दबाब सिर्जना भइरहेको छ।