काठमाडौँ । गएको भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चालित विभिन्न बैंकका शाखा कार्यालयहरूले करिब ६० करोड रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति ब्यहोरेका छन्। नेपाल बैंकर्स संघका अनुसार प्रभावित क्षेत्रका १२ वटा बैंकका कुल १६ वटा शाखामध्ये १५ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने एउटा शाखामा गम्भीर क्षति पुगेको छ।
बाढी प्रभावित शाखाहरूमा कुल ७८ हजार २०४ जना निक्षेपकर्ताको ४ अर्ब ५० करोड रुपैयाँ निक्षेप रहेको छ। बैंकहरूको क्यास भल्टमा १७ करोड २४ लाख, नगद काउन्टरमा १ करोड १७ लाख र ९ वटा एटीएममा १ करोड १६ लाख ६३ हजार रुपैयाँ नगद रहेको थियो। भल्ट, काउन्टर र एटीएममा रहेको नगदको बीमा हुने भएकाले त्यसलाई ६० करोडको भौतिक क्षतिमा समावेश नगरिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए। यद्यपि, बाढीका कारण विभिन्न बैंकका २६ जना कर्मचारीहरू अझैसम्म सम्पर्कविहीन रहेका छन्।
बाढीका कारण बैंकहरूको वित्तीय लगानीमा समेत ठूलो जोखिम निम्तिएको छ। सो क्षेत्रका २ हजार १२५ जना ऋणीहरूलाई बैंकहरूले जलविद्युत् क्षेत्रबाहेक २ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। बाढीले धितो राखिएका जग्गाजमिन र संरचना नै बगाएपछि कर्जा असुली र धितोको सुरक्षणमा गम्भीर प्रश्न उठेको शर्माले बताए। धितोमा राखिएको सुनको बीमा हुने भए पनि कृषि विकास बैंकको त्रिशूली शाखामा रहेका ग्राहकका ६४ वटा लकर बक्सहरू क्षतिग्रस्त हुँदा निक्षेपकर्ताको व्यक्तिगत सम्पत्तिमा ठूलो नोक्सानी पुगेको छ।
बाढीबाट कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र सानिमा बैंकका एक–एक शाखामा क्षति पुगेको छ। यसैगरी प्रभु बैंकका दुई तथा एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन–तीन वटा शाखा कार्यालयहरू बाढीका कारण प्रभावित भएका छन्।