काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका मानिसहरूका शवहरू नारायणी नदीमा फेला पर्ने क्रम जारी रहेको छ। बाढीका कारण ज्यान गुमाएर बगेकामध्ये ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने नारायणी नदीबाट नेपाली सेनाको टोलीले निकालेको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीपछि उद्धार तथा खोज कार्यमा खटिएको चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री नयाँ गोरख गणले आफ्नो जिम्मेवारी क्षेत्रभित्रबाट ७२ वटा शव निकालेको हो। निकुञ्ज क्षेत्र सर्वसाधारणका लागि निषेधित तथा सुरक्षित क्षेत्र भएकाले सेनाको टोलीले नै नदीमा बोटमार्फत निकै जोखिम मोलेर शवहरू बाहिर निकालेको जनाएको छ।
सेनाका अनुसार नदीबाट शव निकालेपछि आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्काका लागि नेपाल प्रहरीलाई खबर गरी जिम्मा लगाउने गरिएको छ। भोटेकोशी नदीले बगाएका व्यक्तिहरू अन्ततः बग्दै नारायणी नदीमा आइपुग्ने भएकाले नदी वारिपारि ठूलो संख्यामा शवहरू संकलन भइरहेका छन्।
यद्यपि, आइतबार आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेकाले बोट सञ्चालन गर्न र नदी वारपार गर्दै शव उद्धार गर्न सेनाको टोलीलाई निकै चुनौती तथा कठिनाइ भइरहेको छ।