काठमाडौं । लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ।
लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि उक्त खण्डमा यातायात पूर्ण रूपमा बन्द भएको थियो। असार २९ गते सडक थप भासिएपछि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको थियो।सडक डिभिजन कार्यालय इलामले मर्मतपछि हाललाई साना तथा हलुका सवारीसाधन मात्र सञ्चालनमा ल्याएको हो। सडकको अवस्था र जोखिमलाई ध्यानमा राखेर अन्य सवारीसाधनलाई भने तत्काल आवागमनको अनुमति दिइएको छैन। सडक डिभिजन इलामका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार सडकलाई सुरक्षित रूपमा सञ्चालनयोग्य बनाउन प्राविधिक टोलीले थप मर्मत तथा सुधारको काम गरिरहेको छ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा इलामसँगै पाँचथर र ताप्लेजुङको झापा तथा तराई क्षेत्रसँगको नियमित यातायात सम्पर्क प्रभावित भएको थियो। दैनिक उपभोग्य सामग्रीको ढुवानी, बिरामीको आवतजावत, यात्रु तथा व्यवसायीसमेत लामो समयदेखि समस्यामा परेका थिए। वर्षायाममा पटक–पटक सडक भासिने समस्याबाट प्रभावित हुँदै आएको माइखोला–राजदुवाली खण्ड यसपटक पनि लगातारको वर्षाका कारण क्षतिग्रस्त बनेको हो। ५१ दिनपछि सडक आंशिक रूपमा सञ्चालनमा आएपछि इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा स्थानीयवासीलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।