काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा मुख्य राजमार्ग प्रभावित भएका छन्।
केही सडकमा यातायात पूर्ण रूपमा रोकिएको छ भने जोखिमयुक्त क्षेत्रमा निश्चित समयका लागि सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको नेपाल प्रहरीले जनाएको छ।प्रहरीले सोमबार साँझ ६ बजेसम्मको अवस्थाबारे जानकारी सार्वजनिक गर्दै यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग रोज्न आग्रह गरेको छ।प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा वर्षाका कारण सडकमा यातायात सञ्चालन हुन सकेको छैन। उक्त सडक अवरुद्ध भएपछि यात्रुका लागि वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।यसैगरी, बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।कान्तिलोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा पनि बाढी तथा पहिरोको सम्भावित जोखिमका कारण साँझ ५ बजेदेखि रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।उता, त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। उक्त सडकको अवरोध तत्काल हट्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ।प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन र जोखिमपूर्ण सडकमा जबर्जस्ती सवारी नचलाउन आग्रह गरेको छ।

