काठमाडौँ । लगातारको वर्षा, बाढी तथा पहिरोका कारण देशका मुख्य राजमार्ग तथा प्रमुख सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार (भदौ १५ गते) बिहान ०६ः०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै अवरुद्ध मार्गहरूको अवस्थाबारे जानकारी गराएको हो।
नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा भदौ १४ गते बिहान ०७ः०० बजे पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्ण भिरमा बिहान ०८ः०० बजे र गजुरी गाउँपालिका–२ परेवा भिरमा दिउँसो १२ः०० बजे पहिरो खस्दा यातायात सञ्चालन पूर्ण रूपमा ठप्प बनेको छ।
कर्णाली प्रदेशतर्फ मुगुको नाग्मदेखि मुगु गमगढी आउने सडक खण्डअन्तर्गत छाँयानाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्लास्थित सडकमा भदौ १४ गते दिउँसो १४ः३० बजे पहिरो खसेकाले सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।
कोशी र बागमती प्रदेशका विभिन्न सडक खण्डहरूमा पनि अवरोध कायमै छ। इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग (झापादेखि ताप्लेजुङ सडक) पूर्ण रूपमा अवरुद्ध रहे पनि त्यहाँ अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेँसी सडक बाढीका कारण लामो समयसम्मका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ भने मुख्य राजमार्ग तथा पसाङ ल्हामु सडक खण्डसमेत ठप्प छन्।
जोखिम व्यवस्थापनका लागि केही सडकहरूमा समयसीमा तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्ड) मा साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान ०४ः०० बजेदेखि साँझ १८ः०० बजेसम्म परिस्थिति विचार गरी सञ्चालन गर्न दिइनेछ। कान्तिलोकपथ (हेटौंडा–ठिंगन–बागमती–ललितपुर) मा रातिको समयमा (१७ः०० देखि बिहान ०५ः०० बजेसम्म) र नुवाकोटको टोखा–छहरे सडक खण्ड (शिवपुरी गाउँपालिका–८ घट्टेखोला) मा राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ।

