काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशैभर मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना बढेको हो।
अहिले बिहान देशभर साधारणतया बदली (बादल लाग्ने) रही कोशी प्रदेशका केही स्थानका साथै बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ।
सोमबार (आज) दिउँसो र राति पनि देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ। देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा वर्षा हुनेछ भने मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ।
महाशाखाका अनुसार देशका पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी वर्षा र हिमपातका कारण पहिरो तथा नदीहरूमा जलसतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।