काठमाडौँ । लगातारको अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आइतबार साँझ ५ः०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अपिल गरेको छ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा आइतबार बिहान ७ः०० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा ठप्प भएको छ। यस्तै, पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बिहान ८ः०० बजे र गजुरी गाउँपालिका–२ परेवाभीरमा दिउँसो १२ः०० बजे पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ। कान्तिलोकपथको ललितपुरस्थित बागमती गाउँपालिका–३ भट्टेडाँडा पाण्डुरमा दिउँसो २ः४० बजे ठूलो पहिरो खसेका कारण उक्त मार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
उत्तरी तथा पहाडी जिल्ला जोड्ने सडकहरूमा पनि पहिरोले ठूलो क्षति पु¥याएको छ। म्याग्दीको बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैँसरीमा बिहान ५ः५५ बजे पहिरो खसेर यातायात ठप्प भएको छ। मुगुको नाग्म–गमगढी सडक खण्डको छाँयानाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्लामा दिउँसो २ः३० बजे पहिरो जाँदा सडक बन्द भएको छ। यस्तै, मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवाली खण्ड पूर्ण अवरुद्ध भए पनि त्यहाँ वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। रसुवा जोड्ने त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडकको उत्तरगया–५ खाल्टे र पासाङ ल्हामु सडक खण्डमा बाढीका कारण लामो समयसम्मका लागि अवरोध सिर्जना भएको छ।
जोखिम नियन्त्रणका लागि केही राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। बि.पी. राजमार्गमा साँझ ४ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म र कान्तिलोकपथको हेटौँडा–ललितपुर खण्डमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ। टोखा–छहरे सडकको शिवपुरी घट्टेखोला क्षेत्रमा राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको भए पनि मौसम प्रतिकूल रहेकाले अत्यन्त आवश्यक कामबाहेक यात्रा नगर्न र यात्राअघि प्रहरी कन्ट्रोल रूममा सम्पर्क गरी सडकको अवस्था बुझ्न आग्रह गरेको छ।