काठमाडौँ । वीरगञ्जका उद्योगपति तथा रुङ्गटा ग्रुपका सञ्चालक सुरेश रुङ्गटाले बाढीपीडितको राहत तथा उद्धारका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पर्सा क्षेत्र नम्बर १ का सांसद सुशीलकुमार कानुले रुङ्गटाले विपत्तिको समयमा पीडित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गरेको जानकारी दिएका हुन्। कानुका अनुसार रुङ्गटाले माननीय अर्थमन्त्रीलाई चेक हस्तान्तरण गर्दै बाढीपीडितका लागि सहयोग गरेका हुन्। उनले विपत्तिको कठिन समयमा पीडित नागरिकको साथमा उभिएर गरिएको सहयोग सेवाको प्रशंसनीय उदाहरण भएको बताएका छन्। सांसद कानुले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति देखाएको योगदानका लागि सुरेश रुङ्गटा तथा सम्पूर्ण रुङ्गटा परिवारप्रति आभार व्यक्त गरेका छन्। बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाले सहयोग घोषणा गर्दै आएका छन्।