काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि तिनको सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ। संकलित शवहरू सुरक्षित राख्न कम्तीमा एक हजार जना क्षमताको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरूसँग सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आइतबार आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्यको रक्षा तथा शवको पहिचानका लागि फ्रिजर र डीएनए परीक्षण किट तत्काल आवश्यक परेको जानकारी दिए। ठूलो संख्यामा शवहरू संकलन भइसकेको र तिनमा डिकम्पोज (कुहिन) सुरु भइसकेकाले समस्या जटिल बनेको उनको भनाइ थियो।
सरकारले अस्ट्रेलिया, खाडी मुलुकहरू तथा युरोपेली संघलगायतका देशहरूसँग फ्रिजर तथा डीएनए सामग्रीका लागि सहयोग अपिल गरेको छ। पहिचान हुन नसकेका र क्षतविक्षत शवहरूबाट अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार डीएनए नमुना संकलन गरी सुरक्षित राख्दै अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइएको छ। यसरी नमुना सुरक्षित राखिने भएकाले पछि आफन्तले चाहेमा पहिचान र धार्मिक संस्कारका लागि प्रक्रिया अघि बढाउन सकिने सचिव राईले स्पष्ट पारे।
विपद् प्रतिकार्यअन्तर्गत हालसम्म १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ। साथै बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेका नागरिकको खोजी एवम् उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार विज्ञहरू समेत परिचालन गरिएको मन्त्रालयले जनाएको छ।