काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिको शव पहिचान तथा डीएनए नमुना परीक्षणमा सहयोग गर्न भारतले फरेन्सिक विशेषज्ञ टोली नेपाल पठाएको छ।
भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल आइपुगेको फरेन्सिक टोलीसँग भेट गरेका छन्। टोलीले नेपाली विज्ञहरूसँग सहकार्य गर्दै बाढीपहिरोमा मृत्यु भएकाहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानको काममा सहयोग गर्नेछ। भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समार्फत भारतीय फरेन्सिक टोली नेपालमा परिचालन भएको जानकारी दिएका छन्। उनका अनुसार टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए परीक्षण गर्ने र पहिचान हुन नसकेका शवको पहिचानमा सघाउनेछ। राजदूत श्रीवास्तवले पनि चौथो राहत उडानसँगै फरेन्सिक टोली नेपाल आएको बताएका छन्। उनका अनुसार टोलीले रसुवामा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको डीएनए नमुना विश्लेषणमा नेपाली पक्षलाई सहयोग गर्नेछ। उनले नेपालमा जारी उद्धार तथा राहत अभियानमा भारतको सहयोग निरन्तर रहने बताएका छन्।
भोटेकोशी बाढीपहिरोमा ठूलो संख्यामा मानवीय क्षति भएपछि नेपालले शव पहिचानका लागि थप फरेन्सिक क्षमता र तीव्र डीएनए परीक्षणको आवश्यकता औंल्याउँदै आएको छ। हालसम्म ६ सयभन्दा बढी शव फेला परे पनि धेरैको पहिचान गर्न कठिनाइ भइरहेको जनाइएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले शव पहिचानका लागि फरेन्सिक प्रयोगशाला र तीव्र डीएनए परीक्षणमा थप सहयोग आवश्यक रहेको बताएका छन्। उनका अनुसार ठूलो संख्यामा शव फेला परेकाले पहिचान प्रक्रिया चुनौतीपूर्ण बनेको छ र यसका लागि विभिन्न पक्षसँग समन्वय भइरहेको छ। यसअघि भारतले नेपालमा जारी राहत तथा उद्धार अभियानका लागि आवश्यक सामग्री र प्राविधिक सहयोगसहित चौथो राहत उडान काठमाडौं पठाएको थियो। भारतीय विदेशमन्त्री एस. जयशंकरले उक्त उडान काठमाडौं पुगेको जानकारी दिँदै त्यसमा राहत सामग्रीसँगै आवश्यक प्राविधिक क्षमता रहेको बताएका थिए।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार आइतबार बिहानसम्म भोटेकोशी बाढीका कारण नेपालमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। घटनापछि २ हजार ४१९ जना अझै बेपत्ता वा सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।