काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको संख्या ७५२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ः०० बजे सार्वजनिक गरेको अद्यावधिक बुलेटिन अनुसार विभिन्न जिल्लाहरूबाट हालसम्म ७५२ जनाको शव फेला परेको पुष्टि भएको हो।
प्राधिकरणले दिएको विवरण अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति चितवन र नवलपरासी क्षेत्रमा भएको छ। हालसम्म फेला परेका शवहरूमध्ये चितवनमा २५९, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा १०० जना रहेका छन्। यसैगरी गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ।
विपद्का बिच उद्धार कार्यलाई तीव्र बनाउँदै सुरक्षा निकायहरूले हालसम्म ८ हजार ७३० जना प्रभावित नागरिकहरूको सकुशल उद्धार गरिसकेका छन्। प्राधिकरणका अनुसार बाढीपछि अझै पनि २ हजार ५०२ जना नागरिकहरू सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ।