काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूका लागि चीन सरकारले पठाएको ५० टन आपतकालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती दुई विमानले ५० टन तौल बराबरका १३ हजार २०० थान आपतकालीन राहत सामग्री नेपाल ल्याएका छन्। राहत सामग्रीहरूमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफूड, बिस्कुट र प्राथमिक उपचार किटहरू रहेका छन्।
राहत सामग्रीका साथै बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिकहरूको खोजी तथा उद्धारका लागि चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरू पनि आवश्यक आधुनिक उपकरणसहित काठमाडौँ ओर्लिएका छन्।
चीनले पठाएको उक्त राहत सामग्री र उद्धार टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्वागत गर्दै सामग्री ग्रहण गरेका छन्। सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी समेत विमानस्थल पुगेका थिए।