काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत संकलन गर्ने बहानामा च्याट जिपिटीको प्रयोग गरी ठगी धन्दा चलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली बैंक स्टेटमेन्ट बनाई भ्रम सिर्जना गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएको छ।
पक्राउ पर्नेमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२, ठोसे निवासी ३२ वर्षीय भगवान कार्की रहेका छन्। प्रहरीका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितहरूको उद्धार तथा राहतका लागि सरकारद्वारा जारी गरिएको राहत कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भनी कार्कीले सामाजिक सञ्जालमा भ्रम फैलाएका थिए।
अनुसन्धानका क्रममा उनले च्याट जिपिटीको प्रयोग गरी रकम जम्मा गरेको नक्कली भौचर तथा स्टेटमेन्ट तयार पारेको खुलेको छ। उक्त नक्कली स्टेटमेन्टमा आफ्नै क्युआर कोड समावेश गरी मानिसहरूबाट रकम संकलन गर्ने उद्देश्यले सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल राउतका अनुसार नियन्त्रणमा लिइएका कार्कीमाथि ठगी तथा भ्रम सिर्जना सम्बन्धी कसुरमा थप गहन अनुसन्धान भइरहेको छ।
