काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न ३३ भन्दा बढी जिल्ला भई बहने स–साना नदी तथा खोलाहरूमा जलसतह उल्लेख्य बढ्ने भन्दै बाढीको जोखिमबारे सचेत गराएको छ। महाशाखाले आइतबार (भदौ १४ गते) अद्यावधिक सूचना जारी गर्दै विशेष गरी बागमती र गण्डकी प्रदेशका विभिन्न नदी तटीय क्षेत्रमा बाढी तथा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार रसुवाको भोटेकोशी नदी आसपासको विपद् पश्चात् नुवाकोट र रसुवा जिल्ला भई बहने स–साना नदी एवम् खोलाहरूमा जलसतह अत्यधिक बढ्ने तथा उच्च तहको आकस्मिक बाढी आउने सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३१ जिल्लाहरू—पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपास भई बहने स–साना नदीहरूमा समेत पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
उक्त ३१ जिल्लाका साना नदी तथा खोलाहरूमा मध्यम जोखिमको आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा कम उचाइ भएका बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई सजग रहन र स्थानीय प्रशासनको सुरक्षा निर्देशिका पालना गर्न बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।