काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लाका नदी तटीय क्षेत्रहरूबाट मानव अङ्गहरूसहित ७३४ जनाको शव संकलन गरिएको जानकारी दिएको छ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा २५९ जनाको शव फेला परेको छ। यसैगरी नवलपरासी पूर्वमा १६४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ।
विपदमा परी हालसम्म २४९८ जना मानिसहरू सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा रसुवाका ५६२ जना, नुवाकोटका ११५ जना र मकवानपुरका ६५ जना बाट प्राप्त विवरण अनुसार) रहेका छन्। यसैगरी जलविद्युत् आयोजनाहरूबाट ९३३ जना, ५८९ जना विदेशी नागरिक, विदेशी पर्यटकहरूसँग भ्रमणमा गएका १२७ जना नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा नेपाल प्रहरीका २७, नेपाल सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सुरक्षाकर्मी तथा कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्।
खोजी तथा उद्धार कार्यअन्तर्गत हालसम्म कुल ८,१८६ जनाको सकुशल उद्धार गरिएको छ, जसमध्ये नेपाली सेनाले २९७४, नेपाल प्रहरीले २६९९ र सशस्त्र प्रहरी बलले २५१३ जनाको उद्धार गरेका छन्। जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जना गरी कुल २७९ जनाको उद्धार गरिएको छ भने २२७ जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। घटनामा हालसम्म २४२ जना घाइते भएका छन् भने प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।
उद्धार एवम् सुरक्षाका लागि क्षेत्रमा १९,८९५ जना सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्, जसमा नेपाल प्रहरीका ९,२९३, नेपाली सेनाका ५,३९९ र सशस्त्र प्रहरी बलका ४,२०३ जना खटिएका छन्। राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक खाद्यान्न तथा गैरखाद्यान्न सामग्री र ७ वटा हेलिकप्टर उडानमार्फत राहत सामग्री पठाइएको छ। यस्तै भदौ १४ गते २ टन खाद्य सामग्री उत्तरगया र धुन्चे पठाइएको छ।
नेपाल सरकारका तर्फबाट नगद राहत स्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। इन्धन व्यवस्थापनतर्फ नुवाकोटमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ भने २४ हजार लिटर हवाई इन्धन खपत भई १४ हजार लिटर मौज्दात रहेको छ। पहिचान नखुलेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालहरूमा राखिएको र तिनको विवरण प्राधिकरण तथा नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।