काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–४ स्थित चिरौदीमा त्रिशूली नदीको बाढी पस्दा चार वटा घरमा क्षति पुगेको छ। लगातारको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनारमा रहेका स्थानीयका घरहरू प्रभावित बनेका हुन्।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूली नदीमा पानीको सतह बढ्दा गल्छी क्षेत्रका घरहरूमा क्षति पुगेको पुष्टि गरेकी छिन्। घटनास्थलतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिसकिएको र घरहरू पूर्ण रूपमा बगाएको हो या आंशिक क्षति मात्र भएको हो भन्नेबारे प्रहरी पुगेपछि मात्र थप विवरण आउने उनले जानकारी दिइन्।
यसैगरी, गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले पनि बाढीका कारण चार घरमा क्षति पुगेको प्रारम्भिक सूचना प्राप्त भएको र थप विवरण सङ्कलन भइरहेको बताएका छन्।
त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको र तटीय क्षेत्रहरू उच्च जोखिममा परेकाले जिल्ला प्रशासन कार्यालय धादिङले नदी आसपासका सम्पूर्ण बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।