काठमाडौँ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि दुर्गम क्षेत्रमा यातायात सञ्चालन सहज बनेको छ। तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माणका क्रममा सहजीकरण गर्न तथा स्थानीयलाई यातायात सुविधा पु¥याउने उद्देश्यले उक्त बेलिब्रिज निर्माण गरेको हो।
फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर ६ लेलेपलाई जोड्ने गरी तमोर नदीमा मोटरेबल बेलिब्रिज निर्माण गरिएको हो। कुल ७ करोड ८५ लाख १९ हजार १७६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस बेलिब्रिजको लम्बाइ ५४.८ मिटर र चौडाइ ४.५ मिटर रहेको आयोजनाले जनाएको छ।
उक्त पुल सञ्चालनमा आएसँगै फक्ताङ्लुङ गाउँपालिकाको वडा नम्बर ४ इखाबु, वडा नम्बर ६ लेलेप र चीनको सीमावर्ती क्षेत्र नजिकै रहेको वडा नम्बर ७ ओलाङ्चुङगोलासम्म यातायातका साधन सहज रूपमा सञ्चालन हुने भएका छन्। तमोर इनर्जी प्रालिको प्रवर्धनमा सोही क्षेत्रमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ।