काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली र नारायणी नदीको चितवनतर्फका क्षेत्रमा हालसम्म २५९ वटा शव फेला परेका छन्।
तीमध्ये शनिबार साँझसम्म नौ जनाको मात्र पहिचान भएको र आफन्तले शव बुझिसकेको चितवन प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिचान भएका शवमा आठ पुरुष र एक बालिका रहेका छन्। लामो समयसम्म पहिचान हुन नसकेका शवको अवस्था बिग्रिँदै गएपछि देवघाटको जंगल क्षेत्रमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
प्रहरीका अनुसार देवघाट वन क्षेत्रमा तयार पारिएको खाल्डोमा हालसम्म ५९ पुरुष, ३५ महिला र पहिचान खुल्न नसकेका दुई शव व्यवस्थापन गरिएको छ। अस्पतालको शव व्यवस्थापन गर्ने क्षमताभन्दा धेरै शव फेला परेपछि उचित संरक्षणमा समस्या देखिएको थियो। केही शव कुहिन थालेसँगै दुर्गन्ध फैलिन थालेपछि डीएनए नमुना संकलन गरी प्रत्येक शवलाई संकेत नम्बरका आधारमा अभिलेख राखेर जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।