काठमाडौँ । विगत केही दिनदेखि परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्डहरूमा यातायात आवागमन गम्भीर रूपमा प्रभावित भएको छ।
कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवालीस्थित झापादेखि ताप्लेजुङ जोड्ने सडक खण्ड अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। उक्त क्षेत्रमा हाल अर्को वैकल्पिक बाटोमार्फत सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी बागमती प्रदेशका मुख्य राजमार्गहरूमा समेत बाढी र पहिरोको जोखिमका कारण कडाइ गरिएको छ। बि.पी. राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि बेलुकी ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिनको समयमा स्थिति हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ।
त्यस्तै, कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा पनि जोखिमका कारण साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रातको समयमा यात्रा पूर्ण रूपमा बन्द गरिएको छ।
उत्तरी नाका जोड्ने रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण पूर्ण रूपमा ठप्प छ। रसुवा तथा नुवाकोट जिल्लाका अन्य मुख्य राजमार्गहरू समेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घण्टेखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेकाले राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।