काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। आइतबार बिहान ७ बजे अद्यावधिक सूचना जारी गर्दै महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण धादिङको गल्छीस्थित त्रिशूली नदी बाढीमापन केन्द्रमा जलसतह ३ मिटरले बढेको जनाएको छ।
यसैगरी, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रहरूमा भारी वर्षा मापन भएकाले नदीहरूमा पानीको बहाव तीव्र गतिमा बढिरहेको छ। गण्डकी प्रदेशमा भएको निरन्तरको वर्षा र त्रिशूलीमा बढेको जलसतहका कारण नारायणी नदीका साथै यसका सहायक नदीहरूमा समेत जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको महाशाखाले स्पष्ट पारेको छ।
यसैबिच, महाशाखाले बिहान ७ः०२ बजे अर्को अद्यावधिक सूचना जारी गर्दै सिन्धुलीको खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको छ।
त्रिशूली, नारायणी र सुनकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्र तथा आसपासका बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई सजग र सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।