काठमाडौँ । भोटेकोशी नदीमा पानीको बहाव बढेको खबरपछि त्रसित बनेका तटीय क्षेत्रका बासिन्दाका लागि राहतको समाचार आएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो बाढीको कुनै जोखिम नरहेको स्पष्ट पारेको छ।
महाशाखाले आइतबार बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा त्यस क्षेत्रमा तत्काल ठूलो बाढीको खतरा नरहेको जनाएको हो। भोटेकोशी नदीमा बहाव बढेको खबर प्राप्त भएलगत्तै गरिएको अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि अवस्था सामान्य नै रहेको पाइएको छ।
सोही वस्तुस्थितिलाई आधार मान्दै महाशाखाले हाललाई रसुवा, नुवाकोट हुँदै धादिङसम्मका नदी किनारका बस्तीहरूमा ठूलो बाढीको जोखिम नरहेको प्रस्ट्याएको छ। यसअघि नदी सुसाएको र बहाव तीव्र बनेको सूचनाका आधारमा तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।