काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ। यसैका कारण हाल देशभर साधारणतया बदली रही बागमती प्रदेशका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा र कोशी एवम् मधेश प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। रातिको समयमा कोशी प्रदेशको पहाडी तथा तराई भूभाग र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।