काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको अनुमतिबिना अनधिकृत रूपमा ड्रोन नउडाउन आग्रह गर्दै चेतावनी जारी गरेको छ। भदौ १० गते रसुवागढी नाका हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको छ।
उक्त घटनापश्चात् प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहत कार्यका लागि नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना एवम् निजी क्षेत्रको समन्वयमा हेलिकप्टरहरू पूर्ण क्षमताका साथ निरन्तर परिचालन भइरहेका छन्।
तथापि, हवाई उद्धार तथा खोजी कार्य निरन्तर भइरहेको संवेदनशील समयमा केही व्यक्ति तथा संस्थाहरूले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडान गरिरहेको पाइएको प्राधिकरणले जनाएको छ। यसरी बिनाअनुमति ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भीर जोखिम पैदा हुनुका साथै हेलिकप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न जाने प्राधिकरणको भनाइ छ।
प्राधिकरणले उद्धार उडानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी “मानवरहित हवाई उपकरण च्एब्÷म्चयलभ उडान सम्बन्धी कार्यविधि, २०७५“ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडान गर्न÷गराउन सर्वसाधारण तथा सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ। नियमानुसार अनुमति नलिई ड्रोन उडान गरेमा वा उद्धार कार्यमा बाधा पु¥याएमा कानुन बमोजिम कडा कारबाही गरिने समेत सूचनामा चेतावनी दिइएको छ।
