काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोजी, उद्धार, तत्काल राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
ग्रुप तथा ग्रुपद्वारा प्रवद्र्धित संस्थाहरू—ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लेल्यान्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार र आइएमई फाउन्डेसन लगायतका कम्पनीहरूमार्फत उक्त सहयोग रकम उपलब्ध गराइनेछ।
यसैगरी, आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा कार्यरत कर्मचारीहरूले समेत १ दिनको तलब बराबरको रकम राहत कोषमा योगदान गर्ने भएका छन्। ग्रुपले विश्वभरिबाट राहत रकम नेपाल पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको छ भने ’खल्ती बाय आइएमई’ डिजिटल वालेटमार्फत प्रधानमन्त्री राहत कोषमा सोझै र निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ।
व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराइने यस सहयोगले बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न आपूर्ति र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा टेवा पुग्ने विश्वास ग्रुपले लिएको छ। विनाशकारी विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ग्रुपले अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय निकायहरूप्रति आभार व्यक्त गरेको छ।