काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट हालसम्म ६२६ जनाको शव फेला परेको पुष्टि भएको हो।
विपद् व्यवस्थापन तथा खोजी टोलीले विभिन्न जिल्लाका नदी तटीय क्षेत्रहरूबाट शवहरू संकलन गरेको छ। प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २३३ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ। घटनामा २७ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्।
बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म कुल २ हजार ३०१ जनाको सकुशल उद्धार तथा प्राथमिक उपचार गरिएको छ। उद्धार गरिएकामध्ये सबैभन्दा बढी नुवाकोटबाट १ हजार ६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जना रहेका छन्। उद्धारपछि काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज हुने घाइतेहरूको सङ्ख्या १४० पुगेको प्रहरीले जनाएको छ।
प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन हाल ४ हजार ८५४ जना प्रहरी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सम्पर्कविहीन रहेका सुरक्षाकर्मी तथा नागरिकहरूको खोजी कार्य उच्च प्राथमिकताका साथ जारी राखिएको नेपाल प्रहरीले जनाएको छ।