काठमाडौँ । रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भई बहने भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै प्रभावित क्षेत्रबाट उद्धार गरिएका बाहेक ३ जना पर्यटक सुरक्षा निकायको सम्पर्कमा आएका र ४२० जना पर्यटक अझै सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिएको छ।
सम्पर्कविहीन रहेका पर्यटकहरूको खोजी तथा उद्धार कार्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (ल्म्च्च्ःब्), सुरक्षा निकायहरू र स्थानीय प्रशासनको संयुक्त समन्वयमा उच्च प्राथमिकताका साथ टोली परिचालन गरिएको छ।
हालसम्म उद्धार गरिएका र सम्पर्कमा आएका कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना रहेका छन्। यसैगरी चीनका २७, दक्षिण कोरियाका २०, जर्मनी र माल्टाका ४–४, इटाली र अमेरिकाका ३–३ तथा रुस, स्विट्जरल्याण्ड र टर्कीका २–२ जना नागरिकको सकुशल उद्धार गरिएको छ। साथै बुल्गेरिया, ओमान र पोर्चुगलका १–१ जनाको उद्धार भएको छ भने स्पेनका २ जना र बेल्जियमका १ जना पर्यटक हाल सुरक्षा निकायको प्रत्यक्ष सम्पर्कमा आएका छन्।
विपद्मा परेका आफ्ना नागरिकको अवस्था बुझ्न तथा खोजी कार्यमा सहजीकरणका लागि विभिन्न विदेशी कूटनीतिक नियोगहरूले पर्यटन बोर्डसँग प्रत्यक्ष संवाद सुरु गरेका छन्। नयाँ दिल्लीस्थित सिङ्गापुर उच्चायोगका प्रथम सचिव अब्राहम ट्यान र न्युजिल्यान्ड उच्चायोगका काउन्सलर जेनी डु टोइटले पर्यटन बोर्डको कार्यालयमै पुगेर बेपत्ता नागरिकको खोजी तथा सुरक्षाबारे छलफल गरेका छन्। बोर्डले विदेशी नागरिकको सुरक्षा, खोजी तथा स्थानान्तरणका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको स्पष्ट पार्दै आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
यसैबिच, बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिङ सडक खण्ड मर्मतपछि सञ्चालनमा आएको छ। प्रभावित क्षेत्रका केही ग्रामीण तथा सहायक सडकहरू बाहेक देशभरको यातायात आवागमन सामान्य रहेको जनाइएको छ। पर्यटन बोर्डले पर्यटक तथा सर्वसाधारणलाई यात्रामा निस्कनुअघि मौसम र सडकको वस्तुस्थिति बुझ्न र स्थानीय प्रशासनको सुरक्षा निर्देशिका पालना गर्न अपिल गरेको छ। आपत्कालीन सहायताका लागि टोल–फ्री नम्बर १२३४, सरकारी हटलाइन ११४४ वा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिनेछ।

