काठमाडौँ । रसुवाका बाढी प्रभावित क्षेत्रहरूबाट उद्धार गरी नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा ल्याइएका बाढीपीडितहरूले उचित खानपिन तथा बसोबासको व्यवस्था हुन नसक्दा सास्ती भोग्नुपरेको छ। बाढी तथा पहिरोबाट उद्धार गरिएका नागरिकहरू विगत केही दिनदेखि ब्यारेक परिसरमै आश्रय लिएर बसिरहेका छन्।
ब्यारेकभित्र बसोबास, खानेकुरा तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भएपछि पीडितहरूले कठिनाइ भोगिरहेका छन्। विगत चार दिनदेखि ब्यारेकमा बसिरहेका राजेश केसीले बाहिरका होटलहरूमा अत्यधिक महँगी रहेको र पर्याप्त खानेकुरा उपलब्ध हुन नसकेको बताए। उनले भने, “यहाँ बस्नेहरूका लागि खानेकुरा पर्याप्त छैन, होटलहरू एकदमै महँगा छन्। बिस्कुट, चाउचाउ र खानेपानी मात्रै उपलब्ध गराइदिए पनि ठूलो राहत हुने थियो। जतिसक्दो चाँडो सम्बन्धित निकायसम्म हाम्रो आवाज पुगोस् र हामीलाई परिवारसँग भेट गराउने वातावरण बनोस्।”
ब्यारेकमा ठूलो सङ्ख्यामा बाढीपीडितहरूका साथै बेपत्ता भएका आफन्तको खोजीमा पुगेका परिवारजनको उपस्थिति रहेकाले परिसरमा अत्यधिक भीडभाड र चाप बढेको छ। यसैबिच, आफन्तको स्थितिबारे जानकारी माग्न पुगेका परिवारजन र सुरक्षाकर्मीबिच केही समय भनाभन भई तनावको स्थिति समेत सिर्जना भएको थियो। पीडित परिवारहरूले आफ्ना बेपत्ता आफन्तको अवस्थाबारे तत्काल आधिकारिक जानकारी दिन र भेटघाटको सुरक्षित व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।