काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास जारी राखेको छ। उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ।
सुरुङभित्र मानिसहरू फसेको सूचना प्राप्त हुनासाथ सरकारले उच्च प्राथमिकताका साथ विशेष उद्धार टोली परिचालन गरेको हो। उद्धार टोलीले सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो, ढुङ्गा तथा भग्नावशेष हटाउँदै भित्र जाने बाटो खुलाउन निरन्तर प्रयास गरिरहेको छ। सुरुङको मुख खोल्न तथा खोजी कार्यलाई द्रुत गतिमा अघि बढाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० जना गरी ८२ सदस्यीय संयुक्त टोली खटिएको छ। यद्यपि, प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
यसैबिच, उद्धार कार्यमा प्राविधिक सहयोग पु¥याउन भारतबाट आएको टोली पनि रसुवाको त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गरी अवस्थाको मूल्याङ्कन गर्ने र आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।