काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवहरूको जमिनमुनि व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म संकलन भएका २३३ शवमध्ये ८ वटा मात्र पहिचान भएको र बाँकी २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थाहरूमा राखिएको जनाएको छ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट संकलन गरिएका कतिपय शव तथा शवका अवशेषहरू सडेर–गलेर पहिचान नै गर्न नसकिने अवस्थामा पुगेका छन्। ती शवहरूलाई तत्काल व्यवस्थापन नगरेमा वातावरण प्रदूषण हुनुका साथै विभिन्न संक्रामक रोग तथा महामारी फैलन सक्ने स्वास्थ्य विज्ञहरूको राय र विश्लेषण रहेको प्रशासनको सूचनामा उल्लेख छ।
यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको बैठकले ’पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ बमोजिम सबै शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको छ। शव व्यवस्थापन गर्नुअघि भविष्यमा पहिचानका लागि सहज होस् भन्ने उद्देश्यले सबै शवको डिएनए (म्ल्ब्) नमूना संकलन गरी संकेत नम्बरका आधारमा सुरक्षित अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा शनिबारदेखि नै शव व्यवस्थापन प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
