काठमाडौँ । नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट अति प्रभावित ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई आगामी तीन महिनाका लागि ’विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा औपचारिक सूचना प्रकाशित गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित स्थानीय तहहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिएको हो।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो निर्णय लिएको हो। नेपाल–चीन सीमा क्षेत्र नजिकै रहेको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै भौतिक पूर्वाधारहरू ध्वस्त भएपछि उद्धार, राहत तथा पुनरुत्थानको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारले यो कदम चालेको राजपत्रमा उल्लेख छ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएसँगै ती क्षेत्रहरूमा राहत, पुनस्र्थापना तथा पूर्वाधार पुनःनिर्माणका लागि विशेष बजेट तथा प्रशासनिक संयन्त्र परिचालन गर्न सहज हुने गृह मन्त्रालयले जनाएको छ।
