काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ वटा स्थानीय तहका लागि शुक्रबारसम्ममा कुल ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको हो।
प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले आफ्नो कोषमा रहेको रकम निकासा गर्ने निर्णय गरेको थियो। उक्त रकम अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी स्थानीय तहको वर्गीकरण तथा क्षतिको आधारमा अनुदान सहायताका रूपमा उपलब्ध गराइनेछ।
अनुदान प्राप्त गर्ने स्थानीय तहहरूमा रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ गाउँपालिका रहेका छन्। यस्तै नुवाकोटका विदुर र बेलकोट नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका; धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका; गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आबुँखैरेनी गाउँपालिका रहेका छन्।
केन्द्रीय विपद् व्यवस्थापन कोषबाट यी स्थानीय तहहरूलाई विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप रकम हस्तान्तरण गरिनेछ। सो बराबरको रकम पछि अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना गराउने निर्णय भएको प्राधिकरणले जनाएको छ।