काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै महत्त्वपूर्ण सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन्।
बागमती प्रदेशमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड र नुवाकोटका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन्। बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै विपी राजमार्ग (काभ्रे) मा साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म, कान्ति लोकपथ (मकवानपुर) मा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म र टोखा–छहरे सडक खण्डमा राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। पृथ्वी राजमार्गका धादिङ खण्डका विभिन्न स्थानमा सडक एकतर्फी मात्र खुला रहेको छ।
कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ। यस्तै, लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट–डोल्पा सडक खण्ड रिजेगाड खोलाको बाढीका कारण पूर्ण रूपमा बन्द भएका छन्। काठमाडौँ उपत्यका जोड्ने मुख्य प्रवेश मार्ग नागढुङ्गा–मुग्लिन सडक हाल सुचारु रहे तापनि वर्षाको समयमा जोखिम रहने भएकाले लामो दूरीको यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ।